सी चिनफिङलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिए बधाई



एजेन्सी।रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा ऐतिहासिक तेस्रो कार्यकालका लागि चुनिएकोमा सी चिनफिङलाई बधाई दिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार पुटिनले सीसँग दुई देशबीच वृहत सहकार्य विस्तार गर्न पनि आतुर रहेको बताएका छन्।शनिबार सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि महासचिव चुनेको छ। उक्त अधिवेशनले पार्टी विधानमा सीलाई मुख्य नेताका रूपमा ब्याख्या गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा यसअघि दुई कार्यकाल मात्र महासचिव हुन पाउने व्यवस्था थियो। सीले उक्त व्यवस्था केही वर्षअघि नै हटाइसकेका छन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार आइतबार उनले आफ्नो नयाँ टिम सार्वजनिक गरेका थिए।चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय गर्ने सर्वोच्च निकाय पोलिटब्युरोको स्थायी समिति हो। सात सदस्यीय उक्त समितिमा सीले आफ्ना निकटहरूलाई बढुवा गरेका छन्।स्थायी समितिमा ली छियाङ, ली सी, दिङ सेउसियाङ, काइ छी, वाङ हुनिङ, झाओ लेजी परेका छन्।

अहिलेका प्रधानमन्त्री ली खछ्याङ र सभामुख ली चाङ्शु भने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा नै परेका छैनन्।

प्रतिक्रिया दिनुहोस्