बेलायती महारानीको निधनमा आजदेखि तीन दिने शोक मनाउंने नेपाल सरकारको निर्णय



काठमाडौं।बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यससँगै मन्त्रिपरिषद्को बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ। यस दुःखद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोकसन्तप्त राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो। उनी नेपालप्रति सद्‌भाव राख्थिन्। दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्।

ब्रिटिश गोर्खाका कारण नेपाल र बेलायतबीचको मित्रता विशेष रहेको छ। नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक बेलायत हो। सन् १८१६ मा नेपाल र भारतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुन थाले। भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भयो। सोही बमोजिम नेपालीहरू बेलायती गोर्खा सेनामा भर्ती हुँदै आएका छन्।

प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेपछि नेपाल-बेलायतबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ। यस क्रममा सन् १९६० र १९८६ मा महारानी एलिजाबेथले नेपालको दुई पटक भ्रमण गरेकी थिइन्। तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको पालामा एलिजाबेथको राजकीय भ्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्