अपर सोलु हाइड्रोको आइपिओमा आवेदन दिने म्याद आज सकिंदै

काठमाडौं ।अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज जेठ २० गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गरेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।
यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

