युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र खेर्सन रुसी सेनाको कब्जामा



किभ। युक्रेनमा आक्रमण थालेको आठौं दिनमा रुसले प्रमुख सहर खेर्सन पूर्णरूपमा नियन्त्रणमा लिएको छ ।

कृष्ण सागरस्थित बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । पानीजहाज निर्माण कम्पनीहरू रहेको सहरमाथिको नियन्त्रण रुसका लागि निकै महत्त्वपूर्ण ठानिएको छ । यो रुसी फौजले आक्रमण थालेयताकै ठूलो सफलता हो ।

खेर्सनका मेयर इगोर कोलिखैएभले सहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको जनाउँदै सर्वसाधारणलाई ‘सशस्त्र पर्यटक’ को निर्देशन पालना गर्न आग्रह गरेका छन् । कोलिखैएभले ‘आफूहरूमाथि आक्रमण नगर्न रुसी फौजलाई आग्रह गर्न सर्वसाधारणलाई भनेको’ बताएका छन् । ‘मैले उनीहरूसँग केही वाचा गरेको छैन,’ उनले भने, ‘सर्वसाधारणमाथि गोली प्रहार नगर्न मात्र भनेको छु ।’

खेर्सन नियन्त्रणमा लिएसँगै रुसी फौजले क्राइमियासम्म नहरमार्फत पानी आपूर्ति गर्न सहज भएको छ । त्यस्तै, अर्को बन्दरगाह सहर मरिउपोललाई पनि नियन्त्रणमा लिन रुसी सेनाले चारैतर्फबाट घेरेर आक्रमण तीव्र पारेका छन् । रुसी फौजले आवासीय क्षेत्रमा विद्युत् र खानेपानी आपूर्ति बन्द गरिदिएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्