बढ्यो दूधको मूल्य,भोलिदेखि प्रतिलिटर ८५ रुपैयाँ पर्ने

काठमाडौँ।भोलिदेखि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ हुने भएको छ।

सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले यसअघि प्रतिलिटर रु ७६ रहेको दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएपछि दूधको मूल्य ८५ हुने भएको हो।
डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ।यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो।
माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ।

