बाग्मती प्रदेश : तेस्रो पटक मन्त्री परिषद बिस्तार, नवनियुक्त मन्त्रीहरुले लिए सपथ



बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्।

गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा ९माओवादी केन्द्र०का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दुई मन्त्री नियुक्त गरेका हुन्। पाण्डेले नेकपा ९माओवादी० का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन्।

त्यस्तै एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपंछी मन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नियुक्त गरीएको हो।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्