१२ दिनमै बढ्यो पेट्रोलियमको मूल्य,खाना पकाउने ग्यास १ हजार ५ सय ७५ पुग्यो



काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिना दिन नबित्दै बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको छ। यसैगरी खाना पकाउने ग्यास(एलपिजीको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ।

निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ बढाएको थियो। दुई साताभित्र पेट्रोलको मुल्य ६ रुपैयाँ र खाना पकाउने एलपिजी ग्याँसको मूल्य १ सय २५ रुपैयाँ निगमले बढाएको छ।

नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर एक सय एक सय १९ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ। निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि निगमलाई प्रतिलिटर पेट्रोलमा १७।५८ रुपैयाँ, डिजेलमा १३।१४ रुपैयाँ र एलपिजी ग्याँसमा प्रति सिलिण्डर ६ सय ५७।८४ रुपैयाँ घाटा रहेको छ।

प्रतिक्रिया दिनुहोस्