कर्णाली प्रदेश : कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्दै



सुर्खेत ।कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन्।

सोमबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृति गर्दै प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेभित्र बहुमतसहित मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका हुन्।

माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीको समर्थनमा मंगलबार नै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गर्ने छन्।

२०७४ माघ २५ गते नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको बैठकले दल नेतामा निर्वाचित भएका शाहीले वाम गठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।

४० सदस्यीय कर्णाली प्रदेश सभा हाल ३५ सदस्यमा खुम्चिएको छ। माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी, एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद गुमेको छ। प्रदेशसभामा नेकपा एमालेका ९सभामुख राजबहादुर शाही० सहित १३ सांसद छन्। त्यस्तै माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपाको १ सांसद छन्।

गठबन्धनको बलमा ६ सिट जितेको कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ। कर्णालीमा १८ जना सांसदको समर्थनमा सरकारले बहुमत पाउँछ। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नयाँ सरकार गठन गर्नेछन्।

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीलाई राजीनामा दिन दबाब बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्