प्रकाशमान भन्छन्- ‘न्यायालयको गतिरोध अन्त्य गर्न नेताहरु जिम्मेवार हुनुपर्छ ‘



काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले यस्ताे बताएका हुन् ।

उनले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधन दिनुपर्नेमा जाेड दिए ।

कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उनकाे भनाइ छ ।

 

‘न्यायपालिकाले कार्यपालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ’ , उनले भने, ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्म अनुसार चल्नुपर्छ ।’

स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्