कांग्रेस बैठक आज,बांकि अधिबेशनको नयाँ कार्यतालिका ल्याउने तयारी



काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अधिवेशन सुरु हुन बाँकी रहेका जिल्लाको विषयमा निर्वाचन समितिले पदाधिकारी र शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका पदाधिकारी, पार्टीका पदाधिकारी र नेताहरुलाई ३ बजे छलफलका लागि बोलाएका छन् ।

मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त छलफल गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ‘हामीले महाधिवेशनको कार्यतालिकाका विषयमा सोमबार एउटा प्रस्ताव तयार गरको छौँ । त्यही कुरा त्यहाँ पदाधिकारीहरुसमक्ष राख्छौँ । उहाँहरुको सुझावअनुसार अधिवेशन सुरु हुन बाँकी रहेका जिल्लामा कसरी अधिवेशन अघि बढाउने भन्नेबारे निर्क्यौल हुन्छ,’ उनले भने, ‘मिल्यो भने साँझसम्म कार्यतालिका आउँछ ।’

कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ । तर, बाँकी १३ मध्ये रौतहट र रसुवाको भने क्रियाशील सदस्यता नै टुंगिएको छैन । एकैपटक अधिवेशन गर्ने शर्तमा अरु ११ जिल्लाको अधिवेशन पनि रोकिएको छ ।

निर्वाचन समितिले सोमबारै अधिवेशन हुन बाँकी रहेका हिमाली जिल्लामा तिहारअघि अधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ । कांग्रेसले आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेपनि त्यहीअनुसार तल्ला तहको अधिवेशन भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्