म्यानमारको सैन्य सरकारले पाँच हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने

म्यानमारको सैन्य सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्।

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी सेनाले ‘कु’ गरेको थियो। सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा सेनाले आठ हजार बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।
यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा जारी संकटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ।
‘कु’को विरोधमा प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार एक सयभन्दा बढी नागरिक मारिनुको साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ।
अझै पनि सात हजार तीन सयभन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन्। जुलाई महिनामा देशभरका जेलहरूबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो।

