चीनसँग थप ६० लाख डोज भेरोसेल खोप खरिद सम्झौता

काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत चीनसँग थप ६० लाख खोप खरिद गर्ने भएको छ। सरकारले सिनोफार्म कम्पनीको भेरोसेल खोप खरिदका लागि सम्झौता गरिसकेको छ।

सरकारले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) सम्म आइपुग्ने गरी कोभ्याक्ससँग लागत साझेदारीमा उक्त खोप खरिद गर्ने सम्झौता गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।
यसअघि सरकारले सिनोर्फाम कम्पनीकै दुई पटकमा गरेर एक करोड डोज खोप खरिद गरिसकेको छ। नेपालले पहिलो पटक ४० र दोस्रो पटक ६० लाख डोज खोप खरिद गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६४ लाख ९ हजार १९६ जनाले पूर्ण मात्रामा र ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रामा खोप लगाइसकेका छन्।

