रुसले अन्तरीक्षमा गएर फिल्म बनाउने

रुसका अन्तरिक्षयात्री एन्टोन श्काप्लेरोभ, अभिनेत्री युलिया पेरेस्लिद र निर्देशक क्लिम शिपेन्को अन्तरिक्षमा फिल्म बनाउनका लागि मंगलवार इन्टरनेसनल स्पेस स्टेसनतर्फ प्रस्थान गरेका छन् ।

उनीहरू मस्कोको समयअनुसार ११ बजेर ५५ मिनेट जाँदा बाइकोनुर कस्मोड्रोमबाट सोयुज २.१ लोन्च भेहिकलबाट अन्तरिक्षतर्फ गएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।
फिल्मको शीर्षक भाइसोज हो । त्यसको अर्थ हुन्छ– चुनौती । फिल्म इन्टरनेसनल स्पेस स्टेसनमा शूटिङ गरिनेछ ।
यो मिसन सफल भएमा रुसले हलिउडलाई उछिन्नेछ । हलिउडका टम क्रुजले नासा र स्पेसएक्ससँग मिलेर अन्तरिक्षमा फिल्म शूटिङ गर्न खोजेका छन् ।
कुल तीन घन्तटा १७ मिनेट उडेर रुसी अन्तरिक्षयान स्पेस स्टेसनको रासभेट मोड्युलमा ओर्लिनेछ ।
अन्तरिक्षयानबाट ओर्लिएपछि कति समयमा फिल्मका कलाकार र निर्देशकले काम गर्न सक्नेछन् भन्ने कुरा उनीहरूको स्वास्थ्यमा निर्भर रहने युरी गागारिन कस्मोनट ट्रेनिङ सेन्टरले बताएको छ ।

