दुई बर्षको अनुसन्धान : फ्रान्सका चर्चमा व्यापक बालयौन शोषण

फ्रान्समा क्याथोलिक पादरीहरूले सन् १९५० देखि २०२० सम्ममा २ लाख १६ हजारजना बालबालिकाको यौनशोषण गरेको खुलासा मंगलवार भएको छ ।

आज प्रकाशित ऐतिहासिक प्रतिवेदन साढे दुई वर्षको अनुसन्धानपछि तयार पारिएको हो । संसारभरि चर्चका अधिकारीहरूले यौनशोषण गर्ने गरेको समाचार विगत केही वर्षयता आइरहेकोमा यो पछिल्लो कडी हो ।
अझ क्याथोलिक विद्यालयहरूका शिक्षकलाई समेत जोड्ने हो भने बालयौन शोषणमा परेका पीडितको संख्या ३ लाख ३० हजारभन्दा माथि पुग्छ ।
‘यी आँकडाहरू चिन्ताजनक छन् र यसमा प्रतिक्रिया जनाउनैपर्ने हुन्छ,’ अनुसन्धान समितिका अध्यक्ष जीन–मार्क स्वावले पत्रकार सम्मेलनमा बताए ।
‘सन् २००० को दशकको आरम्भतिर क्याथोलिक चर्चले पीडितहरूप्रति गहन र क्रूर दृष्टिकोण राख्ने गरेको थियो ।’
फ्रान्सको बिशप्स कन्फरेन्सका अध्यक्ष आर्कबिशप एरिक दे मुलाँस–बोफर्टले प्रतिवेदनको निष्कर्षबाट आफू स्तब्ध भएको बताए ।
‘म तपाईंहरू सबैसँग माफी माग्न चाहन्छु,’ उनले पत्रकार सम्मेलनमा बताए ।

