अफगानिस्तान : हिन्दू र शिख समुदायलाई नडराउन र देश छोडेर नहिंड्न तालिवानको आग्रह



काबुल प्रवेश रहेको घन्टौंपछि तालिबानका प्रतिनिधिहरूले हिन्दू र सिख समुदायका व्यक्तिलाई भेटेर नडराउन वा देश छोडेर नजान भनेको छ ।

अझ तालिबान प्रतिनिधिहरूले आफ्नो मोबाइल नम्बर समेत दिएर कुनै गाह्रोसाह्रो परेमा सम्पर्क गर्न भनेका छन् ।

तालिबानको प्रतिशोधपूर्ण कारवाहीमा परिने डर पालेका अल्पसंख्यकहरूलाई प्रतिनिधिहरूको यस्तो व्यवहार आश्चर्यपूर्ण लाग्यो । आफूहरूले पाएको स्वतन्त्रता नखोसिने भयो भनी उनीहरू हर्षित छन् ।

तर तालिबानले अल्पसंख्यकहरूलाई सेतो झण्डा उचाल्न भनेका छन् ।

गुरद्वारा वा मन्दिरबाहिर सेतो झण्डा फर्फराएमा उनीहरू तालिबानको सुरक्षामा रहेको थाहा हुने र कसैले पनि नचलाउने प्रतिनिधिहरूले बताए ।

आइतवार काबुलमा तालिबानको नियन्त्रण कायम भएपछि देश छोडेर भाग्न नसक्ने वा नचाहनेहरू घरैमा बसिरहेका छन् । केही चाहिँ काबुलमा रहेका ६ वटा गुरद्वारामध्ये एक गुरद्वारा कर्ते पर्वनमा आश्रय लिइरहेका छन् ।

काबुलमा दुईवटा हिन्दू मन्दिर पनि छन् । तर तालिबानको नाम लिँदै असामाजिक तत्त्वहरूले लुटपाट मच्चाउने डर हिन्दू र सिख समुदायले पालेका छन् ।

कन्दहारमा रहेका हिन्दू र सिख समुदायलाई पनि तालिबानले सुरक्षाको आश्वासन दिएको छ । उनीहरूले आश्वासन कार्यान्वयन गर्ने आशा गर्नुबाहेक कुनै विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्