बुधबारलाई बोलाईएको नेपाल समूह को केन्द्रीय समिति बैठक स्थगित, बिहिवारलाई सारियो



काठमाडौँ । जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा आउन असम्भव भएको र माथिल्लो तहमा पनि केही तयारी अपुग भएको भन्दै बुधबार ११ बजेलाई तय नेकपा एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकेलिएको छ।

नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबारलाई निर्धारित बैठक बिहीबारलाई सारिएको छ।

‘जिल्ला बाहिर रहेका साथीहरुलाई भोलि नै राजधानी आउन असम्भव जस्तो देखियो । अर्को कुरा तयारी पनि अपुग भयो । त्यसैले पर्सिलाई बैठक सारिएको हो,’ उनले भने।

अध्यक्ष केपी शर्मा ओलीसँग एकताका लागि प्रयासमा आफूपक्षीय एकता कार्यदलका पूर्व सदस्यहरु रहेका बेला बेला नेपाल पक्षले मंगलबार केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेका थियो।

ओलीले यही साउन २४ गते आफू पक्षीय केन्द्रीय कमिटी बोलाएकाले नेपालले त्यो भन्दा अगावै उनलाई आफ्नो शक्ति देखाउने र पार्टीको आन्तरिक राजनीति तथा आगामी रणनीतिबारे ‘ब्रिफिङ’ गर्ने उद्देश्यसहित आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाउने निधो गरेका हुन् ।

यो बीचमा ओलीसँग एकताको प्रयास भएमा र त्यसमा उपलब्धिका संकेत देखिएमा पनि त्यसबारे आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई ‘ब्रिफिङ’ गर्ने योजना नेपालको छ ।

नेपालले ओली अध्यक्षबाट हट्नु पर्ने या उनी समान हैसियत आफ्नो पनि हुनुपर्ने अडान लिएका छन् ।

यस्तै संसद विघटलगायत ओलीले गरेका राजनीतिक गल्ती उनले स्वीकार्नु पर्ने अडान पनि नेपालले लिएका छन्।

पछिल्लो पटक ओली र नेपाल वार्ता गर्न तयार भएपनि तयारी नपुगेको भन्दै उनीहरुको वार्ताको समय र स्थान निश्चित गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्