महाधिवेशनबारे सभापति देउवाले दिएको अभिव्यक्तिबाट शेखर सशंकित



काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको भदौ १६ गते महाधिवेशन सुरु गर्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले शनिबार राजधानीमाआयोजना गरेको नेपाली कांग्रेसको महाधिवेशन सुनिश्चितता र भावि नेतृत्व विषयकअन्तरक्रियामा नेता कोइरालाले तल्लो तहको अधिवेशन स्थगित गरेर निर्धारित समयमै महाधिवेशन उद्घाटन गर्छु भन्ने अभिव्यक्ति दिँदाआफू झस्किएको बताएका हुन् ।

“देउवाजीको अभिव्यक्तिले कतै पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण दलको महाधिवेशन जस्तो हुने त होइन भन्ने चिन्ता थपिएको छ,” डा कोइरालाले भने, “तरुण दलको महाधिवेशन पनि उद्घाटन भयो त्यो महाधिवेशनले तीन जना पदाधिकारी मात्र चयन गर्‍यो ।”

अहिले पदावधी सकिंदा समेत तरुण दलमा तीनजना मात्र पदाधिकारी भएको सन्दर्भ जोड्दै कोइरालाले पार्टी महाधिवेशन पनि त्यस्तै हुने त होइन भन्ने चिन्ता व्यक्त गरे । डा. कोइरालाले पार्टीका सोझा कार्यकर्तालाई भुलभुलैयामा नराख्न नेतृत्वसँग आग्रह गरे ।

राजनीतिक दलका विषयमा सर्वोच्च अदालतमा मुद्दा परिरहेको सन्दर्भ औंल्याउँदै कोइरालाले कांग्रेसमा त्यस्तो अवस्था आउन नदिन नेतृत्व बेलैमा सचेत हुनुपर्ने धारणा राखे । पार्टी महाधिवेशन युवा कार्यकर्ताको भविश्यसँग जोडिएकाले सबै समस्या समाधान गरेर मिति निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले पार्टी महाधिवेशन समयमै गरेर कुशल नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य विष्णुबिक्रम थापाले पार्टी अनुशासनलाई कायम राख्दै जिम्मेवार कार्यकर्तालाई सदस्यता वितरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्