क्रियाशिल सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं।नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा निरुपण गर्न नसकेको विषयहरूलाई पार्टीका शीर्ष नेताहरूले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो । विवादित विषयहरूलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिए ।
‘आजको छलफल परामर्शपछि केन्द्रीय नेताहरूको तहमा प्रस्तुत गरिएका विषयहरू, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरूमा केन्द्रीय नेताहरूको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । र उहाँहरूले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरू पनि अगाडि बढ्छन् । अरू पार्टीबाट आएका मानिसको समायोजन गर्ने विषय छन् । पाँच दिनभित्र नेताहरूले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका कामहरू अघि बढ्छन्,’ उनले भने ।
कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरूको, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरूको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिए ।

