मध्यपहाडी लोकमार्गको खोटाङ खण्डमा भ्रष्टाचार : ५ जनाबिरुद्द भ्रस्टाचार मुद्दा दायर



काठमाडौं, साउन १२ : मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले चापागाईंसँग ६८ लाख ९३ हजार ७ सय ७८ ,तत्कालीन इन्जिनियर दिपककुमार खड्कासँग ६८ लाख ९३ हजार ७ सय ७८, तत्कालीन इन्जिनियर गजेन्द्र प्रसाद राउतसँग ६८ लाख ९३ हजार ७ सय ७८, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँलसँग २१ लाख ४९ हजार ८ सय १८ र प्रवन्ध निर्देशक रवि सिंह (महादेव खिम्ती निर्माण सेवा प्रालि)का ६८ लाख ९३ हजार ७ सय ७८ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नारायण प्रसाद रिसालले जानकारी दिए।

आयोगले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा खोटाङ जिल्लास्थित चेनेज ४२ं००० देखि ८८ं५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको दाबी गरिएको छ।

उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएसन पेस गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराइ, इस्टिमेट विपरीत विना कुनै निर्णय फिल्डमा काम गरेको र गराइएको प्रवक्ता रिसालले जानकारी दिए।

फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम गरेको पाइएको पनि अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ।

एउटा ठेक्काबाट डीपीआर अनुसारको इस्टिमेट तयार भइ भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराइ बिल तयार पारी ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ हिनामिना गरिएको अख्तियारको दाबी छ।

प्रतिक्रिया दिनुहोस्