सरकारले दल बिभाजनमा सहयोग गर्न अध्यादेश ल्याए मुलुकभर आगो बाल्ने युथफोर्सको चेतावनी

काठमाडौँ । एमालेका नेता महेश बस्नेतले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउने प्रक्रिया सहजीकरण गरेमा युथफोर्सले देशभरि आगो बाल्ने चेतावनी दिएका छन् ।

एमाले महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको हो । भेलामा युथफोर्सकै सहसंयोजक पुष्प श्रेष्ठको संयोजकत्वमा ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन भएको जानकारी गराईएको थियो।
बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरि आगो बाल्ने पनि बताए । ‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र पुष्पकमल दाहाललाई उचालेर फेल गराउने काम भयो’ पूर्वमन्त्री बस्नेतले भने, ‘कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्थ्यो अब एमाले फुटाउने अध्यादेश ल्याउनुभयो भने त्यसको विरुद्ध प्रतिरोध हुन्छ । हाम्रो संगठनले देशभरि आगो बाल्छ ।’
बस्नेतले विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने काम भए पनि त्यसको परिणाम ख्याल गर्न तयार रहन समेत चेतावनी दिए । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र गरिरहनु भएको छ भने त्यो सपना पनि नदेख्दा राम्रो हुनेछ ।’ उनले युथ फोर्स नागरिक हितमा उपयोग हुने दस्ताको रुपमा रहने पनि स्पष्ट पारे ।

