एमालेले सोध्यो आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय समिती बैठकले पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले पार्टी निर्णय बिपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए । बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न निर्देशन समेत दिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने एमाले प्रबक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कार्य पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भनेको रहेको प्रबक्ता ज्ञवालीको भनाई छ।

दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई सोमबार बसेको बैठकले पनि अनुमोदन गरेको छ । उनले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको उनले बताए । उनले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिन नहुने भनाइ राखे । प्रवक्ता ज्ञवालीका अनुसार बैठक भोलि ३ बजे फेरि बस्नेछ ।

यी हुन स्पष्टीकरण सोधिएका २२ सांसद
देउवालाई मत दिने एमाले २२ सांसद : माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी,  कृष्णकुमार श्रेष्ठ, किसान गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन ।
प्रतिक्रिया दिनुहोस्