यादव नेतृत्वको जसपाले सात मन्त्री र एक राज्यमन्त्री खोजेपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा

काठमाडौ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने भन्दै सरकारमा समान सहभागिता र प्रतिनिधित्वको माग अगाडी सारेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई अप्ठ्यारो पर्ने देखिएको छ।

फुटको संघारमा पुगेको पार्टीको आधिकारिकता विवाद टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको अध्यक्ष उपेन्द्र यादवपक्षले शनिबार संसदीय दलको बैठक गरेर सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो।समान सहभागिताका लागि आफ्नो पार्टीको तर्फबाट कम्तिमा ७ जना मन्त्री र एक जनालाई राज्यमन्त्री बनाईनुपर्ने आन्तरिक निर्णय संसदीय दलको हिजो बैठकले गरेको बताईएको छ। शनिबारको बैठकमा जसपाको अर्को पक्ष, अध्यक्ष महन्थ ठाकुरपक्ष छाडेर आएका पाँचजना सांसदसमेत सहभागी थिए।
जसपाले गठबन्धनका घटकहरुबीच मन्त्रालयहरुको समुचित र समानुपातिक बाँडफाँट हुनुपर्ने निर्णय भएको सो पार्टीका
नेता एवं बाँकेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए। आजबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा सत्तापक्षमा बस्ने निर्णय समेत सो पार्टीको संसदीय दलको बैठकले गरेको छ।

