क्रियाशिल सदस्यता छानबिन: ७५ जिल्लाको टुंगियो, सप्तरी र बाराको मात्रै बांकी



काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसमा क्रियाशिल सदस्यहरुको संख्या ९ लाख पुग्ने भएको छ।हाल सम्म ७५ जिल्लाका नयाँ र पुराना गरी ८ लाख ५३ हजार क्रियाशिल सदस्यहरुको नाम इन्ट्री भइ सकेको जानकारी दिंदै क्रियाशिल सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जनसम्पर्क समितिका समेत गरेर क्रियाशिल सदस्यहरुको संख्या ९ लाख पुग्ने जानकारी दिए।

शुक्रबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न कांग्रेस पदाधिकारी बैठकपछि संयोजक लेखकले मुलुकका ७५ जिल्लाको क्रियाशिल सदस्यता छानबिनको काम सकिएको उनले बताए। सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनको विषयमा विवाद देखिएका कारण क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया ढिलो भएको उनको भनाई थियो। संयोजक लेखकले सप्तरी र बारा जिल्लाबाट नवीकरण र वितरणका कागजातहरू समितिमा पुगिसकेका पनि जानकारी दिए ।

‘सप्तरी र बारामा आन्तरिक समायोजनको विषयमा विवाद थियो। नवीकरणको प्रक्रिया नै ढिलो गरी सुरु भयो,’ उनले भने, ‘कागजात आइसकेको छ। समितिको प्रतिवेदन दुवै जिल्लाको बाँकी कामका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्छौं।’

समिति संयोजक लेखकले एक–दुई दिनभित्रै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको पनि जानकारी दिए।

‘समिति अन्तिम चरणमा प्रवेश गरिसकेको छ। अलमोस्ट सकिसकेको छ,’ उनले भने, ‘प्रतिवेदन बुझाउन समय मागेका छौं। प्रधानमन्त्रीज्यूको कार्यब्यतस्ता हेरेर भोलि–पर्सी प्रतिवेदन बुझाउँछौं।’

क्रियाशील सदस्यता छानबिन समितिका अनुसार अहिलेसम्म कांग्रेसका नयाँ र पुराना गरी आठ लाख ५३ हजार सदस्यको नाम ‘इन्ट्रि’ भइसकेको छ। समितिले विदेशस्थित जनसम्पर्क समितिबाट आउन बाँकी रहेका नामावलीसमेत गरेर झण्डै नौ लाख क्रियाशील सदस्य हुने पनि जानकारी दिएको छ।

‘नौ लाखको संख्यामा सदस्य हुन्छन्। अन्तिम तालिका बनाउँदा थोरै थपघट होला,’ समिति संयोजक लेखकले भने।

बैठकमा पार्टीले गठन गरेको केन्द्रीय निर्वाचन समितिले मस्यौदा गरेको विषय, निर्वाचनका लागि गरेको तयारी र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा पनि छलफल भएको उनले बताए।

लेखकका अनुसार सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले निर्वाचन समितिका सदस्यहरूसँग छलफल गरेर निर्वाचनसँग सम्बन्धित निर्देशिकालाई अन्तिम रुप दिने निर्णय भएको छ।

बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले अहिलेसम्म गरेका निर्णय र कार्यान्वयनका बारेमा पनि छलफल भएको बताइएको छ।

कांग्रेसको आगामी साउन १२ गतेदेखि गाउँ कमिटीको अधिवेशन तय भएको छ।

महाधिवेशनको कार्यतालिकाअनुसार साउन १२ गते गाउँ र नगरपालिका अधिवेशन, साउन १६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन हुने छ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुने तय भएको छ। केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्