सर्बोच्चको फैसलाले दलीय ब्यबस्थाको अपमान गरेको एमाले संसदीय दलको ठहर



नेकपा एमालेले सर्वोच्च अदालतको २८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दिएको परमादेशविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने भएको छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शुक्रबार अपरान्ह बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय भएको जानकारी दिएका हुन्।

‘सर्वोच्च अदालतबाट जनादेशलाई पूर्णरुपमा उपहास गरेर दलीय व्यवस्थाको अपमान गर्यो’, भट्टराईले भने।

‘अदालतले निर्दलीयताको अभ्यास गर्यो, सर्वोच्च अदालतको उक्त फैसलाविरुद्ध एमालेले जनताबीचमा भण्डाफोर अभियान चलाउने निर्णय लिएको छ। हामी सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी अभियान चलाउँछौँ।’उनले भने।

एमाले संसदीय दलको बैठकले सर्वोच्चले दुनियाँमै कहीँ नभएको अभ्यास गरेर प्रधानमन्त्री तोक्ने काम गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने काम गरेको थिएन’, भट्टराईले भने, ’विघटित संसदलाई पुनःस्थापित गरेको मात्रै भए स्वीकार्थ्यौं। तर एउटा दलबाट अर्को दलका नेतालाई सघाउन जाने प्रवृत्तिलाई पनि स्वीकार्ने गरी फैसला आएको छ। सर्वोच्चको यो फैसलालाई हामी मान्दैनौँ।’

प्रतिक्रिया दिनुहोस्