गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला



कास्की — गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा बास्तोला सोमबार मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले बास्तोलालाई संविधानको धारा १६० अनुसार मुख्यमन्त्रीको सिफारिसमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ताको पदमा रहने संवैधानिक प्रावधान छ ।

 

मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश सरह हुन्छ । उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष समेत रहेको बास्तोला डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्वअध्यक्ष हुन् ।

संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ । २५ वर्षदेखि कानुन व्यवसायमा क्रियाशील बास्तोला पोखरा ११ फूलबारीका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्