संवैधानिक इजलासमा सुनुवाइ शुरु



काठमाडौं, १४ असार । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । सोमबारबाट सरकार पक्षको बहस शुरु भएको छ । सरकारका तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस शुरु गरेका छन् । उनलाई ३ घण्टा समय छुट्याइएको छ ।

आइतबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीका लागी १४ घण्टा समय छुट्याइएको छ । संवैधानिक इजलासले दिएको १५ घण्टा मध्ये सरकार पक्षले सभामुख अग्नि प्रसाद सापकोटाका कानुन ब्यवसायीलाई १ घण्टा समय दिएका छन् । रिट निवेदकले सभामुख सापकोटालाई पनि विपक्षी बनाएका छन् ।

सभामुखको तर्फबाट बहस गर्ने कानुन ब्यवसायीलाई इजलासले थप आधा घण्टा समय दिने प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बताएका छन् । सभामुखको तर्फबाट पाँचजना कानुन व्यवसायीले बहस गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्