एमालेमा पूर्बमाओवादीको तहगत समायोजन प्रक्रिया सुरु



काठमाडौं, १३ असार । रामबहादुर थापा बादल पक्षले नेकपा एमालेको गठन गरिन लागेको राष्ट्रिय प्रतिनिधि परिषद्का लागि पूर्वमाओवादीका झण्डै ७ सय जनाको नाम पठाएको छ।

आगामी बुधबार एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ। सोही बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद विस्तार हुँदैछ।

परिषदमा पूर्वमाओवादीको तर्फबाट झण्डै ७ सयको नाम पठाएको नेता नविन रोकामगरले जानकारी दिए। ‘हामीले ७ सयको हाराहारीको नाम पठाएका छौँ,’ रोकामगरले भने, ‘त्यसमध्ये ५ सयलाई परिषद् सदस्य पठाएर बाँकीलाई प्रदेशमा पठाउँछौँ।’ शनिबार थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा तामाङ, गौरी शंकर चौधरी लगायतको बैठकले ती नाम टुंगो लगाएर पठाएको थियो।

एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्दैछ। राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो। थापाले आफ्नो प्रभाव परेका जिल्लाबाट सबैभन्दा बढी नाम पठाएको एक नेताले जानकारी दिए। ‘७७ जिल्लामध्ये नेताहरुको प्रभाव रहेको जिल्लाबाट सबैभन्दा बढी सिफारिस भएका छन्,’ ती नेताले भने, ‘त्यसमा प्रदेश २, वागमतीबाट धेरै जनाको नाम पठाइएको छ।’

कुनै जिल्लाबाट निकै कमको नाम पठाइएको छ। प्रभु साह एमाले पार्टीभित्र सन्तुष्ट छैनन्। उनलाई खुसी पार्नेगरी संख्या पठाइएको ती नेताको भनाई छ। एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बादल समूहबाट राष्ट्रिय प्रतिनिधि परिषद्का लागि नाम प्राप्त भए पनि संख्या रूजु भइरहेकाे जानकारी दिए। उनले भने, ‘उहाँहरूकाे नाम प्राप्त भइसकेकाे छ, हामी रूजु गरिरहेका छाैँ। संख्या एकीन हुन बाँकी छ।’

प्रतिक्रिया दिनुहोस्