एमाले सांसदहरुका कारण कर्णाली प्रदेश सभा बैठक आज पनि अवरुद्ध



सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ । शुक्रबार (आज) बसेको संसद्को १२ औं बैठकमा पूर्नवहाली भएका सांसदहरु प्रतिपक्षको सिटमा नबसेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । बजेट ल्याएको ११ दिनसम्म पनि दफावार छलफल हुन सकेको छैन ।

संसद् बैठकको सुरुवातमा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्रीले एमालेकै कारण संसद अवरुद्ध गरेको भन्ने प्रचार गलत भएको दाबी गरे । ‘एमाले संसदमा एउटा मात्र छ त्यसकारण चार जना सांसदहरु प्रतिपक्षको सिटमा बस्नुपर्छ’ शाहले भने, ‘सरकारमा सामेल हुन उहाँहरूलाई दलको निर्णय चाहिन्छ कसरी सामेल हुनुभयो उहाँहरू ।’

‘कर्णाली सरकार बजेट ल्याउने पक्षमा थिएन । हामीले त्यसमा पहल गरेका थियौँ,’ उनले भने, ‘अहिले बजेट ल्याएको ११ दिन बित्दासम्म पनि दफावार छलफल भएको छैन ।’ शाहले बोले लगत्तै एमाले सांसदहरूले उठेर बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले बजेट जस्तो महत्वपूर्ण विषयमाथि छलफल गर्नुपर्ने भन्दै बसेर समस्या सुनाउन आग्रह गरेपनि एमाले सांसदहरुले उठेर विरोध गरेका हुन् । कर्णाली सरकारले ल्याएको बजेटमाथि ११ दिनदेखि दफावर छलफल हुन सकेको छैन् । बैठक अवरूद्ध भएपछि असार १३ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्