राप्रपामा राणा,लोहनी र थापालाई नेतृत्व त्याग्न तीब्र दवाव



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवगठित निर्देशन समितिको बैठकमा नेतृत्वको कार्यशैलीको आलोचना भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा बोल्ने सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी एकपछि अर्को सङ्कटमा फस्दै गएको भन्दै त्यसका लागि युवापुस्तालाई नेतृत्व हस्तान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागी निर्देशन समिति सदस्य दीलनाथ गिरीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै ओलीले संविधान नमान्दा देश र सिङ्गो उनी नेतृत्वको पार्टी नै संकटमा परेजस्तै राप्रपामा पनि सोही बाटोतर्फ रहेको भन्दै कटाक्ष गरेका थिए । पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भएपनि नेतृत्वको कार्यशैली चित्तबुझ्दो नहुँदा नेता कार्यकर्तामा चरम निराशा छाएको उनको भनाइ थियो ।

पार्टीले गठन गरेको विशेष समितिलाई विधानले नचिन्ने भन्दै यसले पार्टीमा विवाद निम्त्याएको पनि बैठकमा धारणा राखेका थिए । ‘पार्टीले गठन गरेको विशेष समितिलाई विधानले चिन्दैन । यो खारेज गरिनुपर्छ’, उनले बिहीबारको बैठकमा भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमान्दा देश र उनकाे सिंगो पार्टी नै गम्भीर संकटमा पुगेको छ । राप्रपामा त्यो हुन नदिन विधान कार्यान्वयनमा जोड दिइनु पर्छ । यस्तै उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि आगामी कात्तिकसम्ममा जिल्ला अधिवेशन गरिसक्ने गरी तयारी गरिनुपर्नेमा जोड दिए ।

उनले पार्टीले गत शुक्रबार गठन गरेको निर्देशन र विशेष समितिमा युवाका साथै समानुपातिक–समावेशी प्रतिनिधित्व नभएको पनि बताए । ‘निर्देशन र विशेष समिति दुबैमा युवाहरुको प्रतिनिधित्व देखिएन । विगतमा तपाईहरुले युवा अवस्थामा नै पार्टी चलाउनु भएको थियो । अहिले बुढो भइसकेको अवस्थामा पार्टीलाई जीवन्त बनाउन युवा चाहिँदैन ?’, उनको प्रश्न थियो ।

उनले अहिले नेतृत्वमा रहेका कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबाट पार्टीलाई गति दिन नसकिने धारणा समेत राखेका थिए । गिरीले बैठकमा भनेका थिए, ‘१५ वर्ष पशुपति शमशेर राणा, १२ वर्ष कमल थापा र १ वर्ष डा लोहनीले गर्नुभयो । तर सुरुमा तेस्रो र त्यसपछि चौथो शक्तिमा आयौं । ७४ को चुनावबाट थप खुम्चियौँ ।’ अहिलेकै अवस्थामा अघि बढे पार्टी थप अधोगतितिर जाने उनको जिकिर थियो ।

बैठकमा गिरीसहित निर्देशन समिति सदस्य तोरण बहादुर गुरुङ, कुन्ती शाही, भरत गिरी, भोला यादव र मुकुन्द श्याम गिरीले आ–आफ्नो धारणा राखेका थिए ।
रहस्य साप्ताहिक
रहस्य sent Today at 06:19
समितिको बैठकमा राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, रामकुमार सुब्बा, हरिबहादुर बस्नेत, जयन्त चन्दलगायत सहभागी नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पार्टीबाट संघीय संसदमा लिङ्देनको प्रतिनिधित्व रहेको छ भने नेपालगन्ज उपमहानगरपालिकाको मेयर राणा हुन् । उनीहरु दुबैले पार्टी नयाँ पुस्ताले चलाउनुपर्ने लबिङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्