नेचासल्यानको तल्लो क्षेत्रमा सिंचाईको दिगो समाधान आवश्यक

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु नेचासल्यान गाउँपालिकामा समयमा पानी नपर्दा किसानहरुमा निराशा छाएको छ । सोलुखुम्बु जिल्लाको तराई र अन्नको भण्डार मानिने नेचासल्यानका कृषकहरु समयमा पानी नपर्दा सास्ती बेहोर्न बाध्य बनेका हुन् । नेचासल्यान गाउँपालिकाको बेंशीगाउँ, भदौरे, लखने, पोखरे गुयल चौर, बान्द्रे, मासखोरिया, पहले र टारी क्षेत्रका किसानहरु समयमा पानी नपर्दा धानको बीउ राख्न नपाएर हैरान भएका छन् ।
जेठको २०/२२ देखि असारको पहिलो हप्तासम्म धानको बीउ राखेर साउनको १५ सम्म रोपाइँ सिद्दाउने कृषकहरु अहिले पानी पर्ने आशामा आकाशतिर हेरेर चित्त बुझाउन बाध्य भएका छन् । सिंचाइको भरपर्दो कुलो र खोलाको अभावमा सो क्षेत्रका कृषकहरु बर्सेनि सिंचाइ अभावमा कृषि सम्बन्धि समस्याबाट ग्रसित बन्ने गर्दछ्न । अँधेरी र उजेली खोलाको मुहान भएर आउने सिंचाइ कुलाहरुमा कमिला हिड्न थालेपछि दिगो स्रोतको अभावमा यस छेत्रका किसानहरु यस्ता समस्या भोगी रहेका छन् । यहाँका जमीन उर्वर भएपनि आकासबाट वर्षा नहुन्जेलसम्म रुखो देखिने गर्दछ्न भने प्रशस्त वर्षा हुँदा प्रत्येक गरामा मूल पलाई धान खेती गर्न सजिलो हुने गर्दछ । अहिले किसानहरु खानेपानीको पाइपबाट आएको पानीलाई थोपा सिंचाइ गरेर र धुले बीउ छरेर धानको बीउ राख्दैछ्न भने यो पनि सम्भव नहुने ठाउँमा भ्यागुताको ट्वारट्वार र आकाशमा लागेको कालो बादलले पानी पर्ने संकेत गर्दा पनि पानी पर्ने आशा राख्दछ्न। नेचासल्यान क्षेत्रका अघि रोपाइँ गर्ने खेतहरुमा समयमा वर्षा हुन नसक्दा रोपाइँ समेत हुन सकेको छैन ।
नेचासल्यानको पूछारमा खहरे, सोलु जस्ता खोला भएअपनि खेतीयोग्य जमिनमा सिंचाइ गर्ने बिकल्प नभएको स्थानीय कृषकहरू बताउँछन् । लिफ्टिङ प्रणालीबाट पेम्पसेटको माध्यमले सोलु, खहरे जस्ता खोलालाई सदुपयोग गरी सिंचाइ सुबिधा पुर्याउन सके सोलुखुम्बु जिल्लाको अन्नको भण्डार माथि उक्सने कुरा स्वयंसिद्ध छ । यस कुरा जिम्मेवार निकाय तथा स्थानीय जनप्रतिनिधि ज्यूहरु, सोलुखुम्बु जिल्लाका माननीय ज्यूहरु, पूर्व माननीय मन्त्री ज्यूहरु, कृषि विज्ञ, कृषकका पीता ज्यूहरु र सरोकारवालाहरुको ध्यान जान जरुरी ठानिन्छ । आज कृषिमा क्रान्ति छ । प्रशस्त आर्थिक लगानी छ । राज्यको पैसा वास्तविक कृषक र कृषि पेशा सम्बद्ध व्यक्तिसँग पुगेको छ कि छैन ? यसको छानबिन हुन जरुरी छ ।
कृषि प्रधान देश नेपालका किसान आफ्नो उर्वर धर्तीमा सुन फलाउन चाहान्छ्न्, सोलुखुम्बु जिल्लाले सिंचाइ , जलस्रोत र कृषि मन्त्रालय्को जिम्मेवारी नपाएर चनाखो नबनेको हो कि ? जिम्मेवार पक्षले सजक हुन जरुरी छ कि ? सोच्न जरुरी छ । पाइपबाट ल्याएको खानेपानीलाई संचित गरेर बनाउदै गरेको ब्याड अनि कृषकको आवाज र चिन्ता समेटेर आफूले देखेको सपना बाडिएको हो यो ।
आसन्न नेचासल्यान गाउँपालिका परिषद ( सभा) ले यो विषयमा गम्भीर आवाज उठाएर कार्यान्वयनमा ल्याउनु श्रेयस्कर होला ।

