सिटिजन बैंकले सुरु गर्‍यो ‘पेडे लोन’ नामक कर्जा योजना



काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा ग्राहकलाई यस्तो सुविधा दिन लागेको हो

बिहीबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा आयोजित भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् । बैंकका प्रवक्ता नारायणराज अधिकारीका अनुसार बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले यस्तो कर्जा अधिकतम ३० दिनसम्मका लागि सहजै प्राप्त गर्न सक्नेछन् । कर्जाका लागि कुनै पनि निवेदन र अन्य कागजात पूरा गर्नुपर्ने छैन ।

बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले योजना लोकप्रिय हुने बैंकको दाबी छ । सिटिजन्स बैंकमा २ वर्षदेखि नियमित तलब खाता प्रयोग गरीरहेका ग्राहकले कर्जा चाहिए यो बैंकको मोबाइल एपबाट आवेदन दिन सक्नेछन् । कर्जाका लागि योग्य ग्राहक हो भने बैंकले नै लोन आवेदन गर्न मोबाइलमा सन्देश पठाउँछ । कर्जा आवश्यक परेका योग्य ग्राहकले बैंकले पठाएको लिंकमार्फत आवेदन गरेपछि तलबअनुसार कति कर्जा, कति ब्याजदरमा पाउने भन्नेबारे सिस्टमले देखाइदिन्छ । त्यसपछि सम्बन्धित ग्राहकको खातामा तुरुन्तै पैसा आउँछ ।

प्रतिक्रिया दिनुहोस्