आगामी आर्थिक बर्षका लागि आज बजेट ल्यांदै सरकार

काठमाडौ।सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ का लागि पूर्ण आकारको बजेट ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार अपराह्न ४ बजे आगामी आवको बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए । अर्थमन्त्रीले प्रधानमन्त्री कार्यालयको हलमा बजेट सार्वजनिक गर्नेछन् । अर्थ मन्त्रालयले बजेट निर्माण सम्पन्न गरिसकेको छ । शुक्रबार अबेरसम्म बजेटलाई अन्तिम रूप दिने काम भएको थियो । शनिबार मन्त्रिपरिषद्बाट पास गरेर राष्ट्रपतिको कार्यालयमा लगिनेछ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् ।
आगामी आर्थिक वर्षको बजेट कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार, प्रतिनिधिसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन, आर्थिक पुनरुत्थान र सामाजिक उत्थानमा केन्द्रित हुने अर्थ मन्त्रालयले जनाएको छ । यसकै सेरोफेरोमा रहेर बजेटमा वृद्धभत्ता वृद्धि गर्ने, कोभिडविरुद्धको खोप खरिद गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने, प्रधानमन्त्री कृृषि आधुनिकीकरण कार्यक्रमलाई निरन्तरता, आर्थिक पुनरुत्थानका लागि कर छुट, करका दर हेरफेर, तालिम तथा छात्रवृत्ति घोषणा, महिला उद्यमशीलता वृद्धि गर्नेलगायत नीति, कार्यक्रम तथा योजना समावेश गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ । त्यस्तै, स्वास्थ्य पूर्वाधारलाई समेत जोड दिइएको छ । सञ्चालनमा रहेको परियोजनालाई निरन्तरता दिन बजेट विनियोजन गरिएको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट प्रक्षेपण गरिएको छ । आयोगले अर्थ मन्त्रालयलाई १६ खर्ब ९७ अर्बको बजेट सिलिङ दिएको छ । तर, दोस्रो लहरको कोभिड संक्रमण उच्चदरमा बढेको तथा त्यसको रोकथामका लागि गरिएको निषेधाज्ञाले आर्थिक गतिविधि शिथिल भएका कारण स्रोत अनुमानमा केही घटबढ गरिएको छ । स्रोत समितिले दिएको पछिल्लो स्रोतको सीमाका आधारमा अर्थ मन्त्रालयले सवा १६ खर्ब हाराहारीको बजेट तयार गरिरकेको छ । सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत चालू आवको बजेटमा संशोधन ८.९१ प्रतिशतले घटाएको छ । संशोधित बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च गर्ने अनुमान छ ।

