खोप आपूर्तिमा ढिलाई नगर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघसमक्ष माग गरेका छन् । सोमबार राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटवार्तामा ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न माग गरेका हुन् ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग थप परामर्श गरेकी थिइन्। साथै, भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ गरेकी थिइन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भैरहेको जानकारी दिएका छन् । न्यान्तीले सोमबार छाउनीस्थित कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको कार्यालय पुगेर कर्मचारीसँग स्वास्थ्य सामाग्री बारे थप जानकारी समेत लिएकी थिइन् ।

