बिहेमा गएका एक युबकले सारे ३० जनालाई कोरोना, युवकसहित तीनजना बिरुद्द मुद्दा दायर



एजेन्सी ।एउटा बिहेमा आएका एक जना सङ्क्रमितले अन्य ३० जनालाई संक्रमण सारेपछि पूरै गाउँ सिल गरिएको छ । भारतको मध्य प्रदेशको निवाडीमा ती एक जना सङ्क्रमितको लापरवाहीले अहिले पूरै गाउँले दुःखमा परेका हुन् ।

निवाडी जिल्लाको लुहारगुवा गाउँका ती युवकले आफ्नो रिपोर्ट पोजेटिभ आएको ८ दिनसम्म यसबारे सबैसँग जानकारी लुकाएका थिए । यस बीचमा उनी गाउँमा भएको बिहेमा समेत सहभागी भए र पूरै गाउँ घुमिरहेको बताइएको छ ।

यी युवकका कारण तीन दर्जनभन्दा धेरै मानिसहरू कोरोना भाइरस संक्रमित भएका छन् र कैयौँको हालत गम्भीर भएको बताइएको छ । यसबारे जिल्ला प्रशासनले थाहा पाएपछि पूरै गाउँलाई रेड जोन घोषित गरेर सिल गरिएको छ ।

न्यूज ट्रयाकका अनुसार अहिले गाउँबाट बाहिर निस्किन र गाउँ प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । प्रहरीले गाउँ प्रवेश गर्ने बाटोमा बन्द गरिदिएको छ । डाक्टरहरू घरघरमा गएर जाँच गरिरहेका छन् । संक्रमण फैलाउने युवकसहित चुपचाप बिहे गराउने तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

ती युवकको रिपोर्ट २७ अप्रिलका दिन पोजेटिभ आएको थियो । तर रिपोर्ट पोजेटिभ आएको २ दिनपछि २९ अप्रिलमा उनले गाउँमा भएको विवाहमा खाना पस्किएर धेरैलाई बाँडेका थिए ।

त्यसको भोलिपल्ट उनी अर्को एक बिहेमा पनि सहभागी भए र जन्ती समेत गए । बिहेबाट फर्केपछि पनि उनी गाउँमा घुमिरहेका थिए । उनको यो कारवाहीपछि जब गाउँलेहरू धमाधम बिरामी हुन थाले त्यसपछि जाँच गराउनेको लाइन लाग्यो ।

बुधबारसम्म ६० जनाको परीक्षण गरिँदा ३० जना संक्रमित पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्