स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने सरकारको निर्णय



काठमाडौं, १४ बैशाख । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित तथा प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले उपलब्ध स्वास्थ्य शैया, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ ।

तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्