कोरोना संक्रमणबिरुद्ध सोलुखुम्बु प्रहरीको ‘तपाईंको मास्क खोइ?’ सचेतना कार्यक्रम



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।कोरोना भाइरस संक्रमणबिरुद्ध जनचेतना जगाउने उद्देश्यले सोलुखुम्बु प्रहरीले ‘तपाईंको मास्क खोइ?’ सचेतना कार्यक्रम सन्चालन गरेको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा सोलुखुम्बुवासीहरुमा हुनसक्ने संक्रमण जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले शुक्रवार सो सचेतना कार्यक्रम सन्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको उपस्थितिमा सल्लेरी वजार क्षेत्र तथा सोलुखुम्बु जिल्लाका अन्य स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिहरुको समेत उपस्थितिमा विभिन्न स्थानहरूमा “तपाइको माक्स खोइ ?” सचेतना कार्यक्रम संचालन गरी माक्स समेत वितरण गरिएको वहाँले बताउनुभयो।

उता जिल्लाको नेचासल्यान गाउँपालिकामा आयोजित सचेतना र्‍यालीको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले उद्घाटन गरेका थिए।सचेतना र्‍यालीसंगै सर्बसाधारणलाई मास्क बितरण गरिएको ईलाका प्रहरी कार्यालय नेचासल्यानले जनाएको छ।

उता,पासाङल्हामु गाउँपालिका वडा नं.- २ लुक्ला बजारमा इलाका प्रहरी कार्यालयको टोलीले चेतनामूलक कार्यक्रम गरेको छ । तपाइँको खोइ माक्स? लेखिएका प्लेकार्ड सहित इलाका प्रहरी कार्यालय लुक्लाको टोलीले सो चेतनामूलक -र्याली निकालेको हो । प्रमुख पर्यटकीय बजार लुक्लामा नेपाल प्रहरीको टोलीले माक्स वितरण गर्दै सो कार्यक्रममा संचालन गरेको थियो ।

प्रहरी निरीक्षक महेश निरौलाको नेतृत्वमा सो चेतनामूलक कार्यक्रम संचालन भएको थियो भने प्रहरीको टोलीले स्थानीय सर्वसाधारण, व्यपारी, कर्मचारी, आन्तरिक तथा बाह्य पर्यटक सहितलाई अनिवार्य रुपमा माक्सको प्रयोग गरि कोरनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गरिरहेको पाइएको छ । यस्तै गरि सोलुखुम्बुका जिल्ला प्रहरी कार्यालय लगायत अन्य पालिकाहरुमा रहेका प्रहरी कार्यालयहरुमा पनि सो अभियान संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्