शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौँ उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।

मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएको बताए ।
‘अहिले बनेका खोप १८ वर्षभन्दा माथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ, यही भएर काठमाडौँ उपत्यकासहित ठूला सहरी क्षेत्रका विद्यालय बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर सिफारिस गरिएको हो’, उनले भने ।
उनका अनुसार विद्यालय बन्द गर्ने विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको छ ।
उनले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने बताएको छ ।
कुराकानीका क्रममा मन्त्री त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर यो प्रक्षेपण गरिएको बताए ।
उनले भने, “दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ । त्यसका लागि अहिले नै हामीले आवश्यक तयारी गरिरहेका छौँ ।”

