सांसद राईले भ्रम छर्न खोजेको मेयर शेर्पाको आरोप



सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङ्बु शेर्पाले संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ ले हचुवाका भरमा बोलेको आरोप लगाएका छन्।

रहस्यखबर अनलाइनमा प्रकाशित एक खानेपानी आयोजना सम्बन्धि समाचारप्रति इंगित गर्दै मेयर शेर्पाले सो आरोप लगाएका हुन।सांसद राईको पहलमा नेचासल्यान र सदरमुकाम सल्लेरीमा खानेपानी आयोजनाका लागि क्रमशः ३६ करोड ८ लाख र १४ करोड रुपैयाँ संघीय सरकारको खानेपानी मन्त्रालयबाट बिनियोजन भएको समाचार अनलाइनमा प्रकाशित थियो।

सामाजिक सन्जाल फेसबुकमा पोस्ट सांसद राइको स्टाटस र उनको सचिवालयले दिएको जानकारीका आधारमा आइतबार प्रकाशित समाचारप्रति आपत्ती जनाउँदै मेयर शेर्पाले सामाजिक सन्जाल फेसबूकमा लेखेका छन- ‘जनप्रतिनिधिहरू कति हचुवाको तालमा बोल्छन भन्ने कुरा आज शिखरपोष्ट र रहस्य अनलाइनमा प्रकाशित फाप्लु सल्लेरी दोर्फु खानेपानी आयोजनाको लाागि १४ करोड छुटाएको भन्ने समाचार हेर्दा थाहा हुन्छ । यो आयोजनाको लागि छुटाएको बजेट रू १४ करोड नभइ रू १ करोड ४४ लाख ५९ हजार मात्र हो । यसको डिपीआर निर्माण देखि बजेट छुटाउने र टेण्डर स्वीकृत गर्दासम्म बेखबर भएको जनप्रतिनिधिले जबरजस्ती हतारमा जस लिन जनतामा भ्रम सिर्जना गर्न खोज्दा यसरी आफनै धोती खुस्केको पत्ता समेत पाउॅंदैन ।’

फाप्लु सल्लेरी बजार क्षेत्रको खानेपानी ब्यबस्थित गर्न नगरपालिकाले रु १ करोड ३० लाख बजेट बिनियोजन गरी टेन्डर आव्हान गरी सकेको मेयर शेर्पा भनाई छ। नगरपालिकाले खानेपानी बिभागसंग बजेट माग गरेकोमा बिभागले समेत रू १ करोड ४४ लाख ५९ हजार स्वीकृत गरी थप कार्यको लागि छुट्टै टेण्डर प्रकाशित गरेको दावी पनि उनले गरेका छन। शेर्पाले भनेका छन्,-‘ दुबै क्षेत्रबाट गरि जम्मा २ करोड ७४ लाख ५९ हजारको टेण्डर आव्हान भइसकेको हुनाले फाप्लु सल्लेरी बजार क्षेत्रको लामो समय देखिको खानेपानीको समस्या चांडै समाधान हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्