प्रधानमन्त्रीको चियापान बहिष्कार गर्ने खनाल-नेपाल समूहको निर्णय

काठमाडौं, २ चैत ।नेकपा एमालेभित्रको माधव नेपाल समूहले बालुवाटारको चियापान बहिष्कार गर्ने निर्णय गरेको छ।

सोमवार विहान पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल समूहको बैठकले बालुवाटारको चियापानमा सहभागी नहुने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले भोलि मंगलवार विहान ११ बजे बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा उपस्थित हुन एमालेका सबै नेतालाई बोलाइएको छ। तर माधव नेपालले भने बानेश्वरमा बैठक राखेर नजान आफ्नो समूहका नेतालाई निर्देशन दिएका हुन्।
नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकले आफ्नो समूहको भेलासमेत नरोक्ने निर्णय गरेको छ। नेपाल समूहले यहीँ ४ र ५ भेला राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ।

