अब ६५ बर्ष माथिकालाई सहुलियत र ७० बर्ष माथिका नागरिकको नि: शुल्क उपचार गरिने

काठमाडौं,२७ फाल्गुन । सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शय्याभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क हुने भएको छ ।

हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जोरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम ६० वर्षमाथिका ज्येष्ठ नागरिकलक्षित सरकारले सुरु गरेकोे कार्यक्रम हो । यसअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई आकस्मिक, अन्तरंग र बहिरंग सेवा सहुलियत शुल्कमा प्रदान गर्ने व्यवस्था रहेको छ । त्यसैगरी, स्वास्थ्य बिमामा समेटिएका ७० वर्षभन्दा माथिका सबै नागरिकको हकमा यी तीन सेवाहरु निःशुल्क हुने व्यवस्था गरिएको छ । सम्बन्धित अस्पतालको सामाजिक सेवा एकाइमार्फत सेवा प्रदान गरिने जनाइएको छ।

