फाराम प्रमाणित गर्दा पक्राउ परे नक्कली डाक्टर



काठमाडौं, फागुन ३ : नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रका लागि दिइएको आवेदन फाराम प्रमाणित गर्न दस्तखत गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ का ३६ वर्षीय जितेन्द्र पन्थी आइतबार पक्राउ परेका हुन्।

असोज ६ गते डा. कृष्ण रिजालको निवेदन फाराममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ लेखी सहिछाप गरेका थिए । तर उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नगरेको खुल्न आएको छ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रकाे आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गर्नुपर्ने नियम छ।

उनीमाथि लिखितसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्