दाहाल- नेपालद्वारा अर्को चरणको आन्दोलन घोषणा,यस्ता छन्

काठमाडौं, माघ १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । नेकपा दाहाल–नेपाल समूहले माघ १३ देखि माघ २८ गतेसम्म प्रतिनिधिसभा विघटनविरुद्ध विविध कार्यक्रम गर्ने घोषणा गरेको हो ।

नेकपा नेतृ पम्फा भुसालले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष र विरोध कार्यक्रम जारी रहने बताइन् । उनले भनिन्, ‘२०७७ माघ १३ गते सिठी जुलुस गर्नेछौँ ।’
त्यस्तै माघ १४–२१ गतेसम्म माइतघर मण्डलामा धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ । भुसालका अनुसार १६ माघमा शहीद दिवसका अवसरमा शान्तिवाटिकामा जुलुससहित श्रद्धाञ्जली कार्यक्रम गर्ने घोषणा भएको छ ।
संघर्षका कार्यक्रमअन्तर्गत माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा बृहत् जनसभा गर्ने घोषणा गरेको छ । त्यस्तै, प्रदेशका राजधानीमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
भुसालले भनिन्, ‘काठमाडौंमा माघ २२ गते बृहत् युवा जुलुस गर्नेछौं । माघ २६ मा देशव्यापी मसाल जुलुस गर्ने निर्णय गरेका छौँ ।’

