समय अनुसार ब्यापार बिबिधिकरण गर्नुपर्नेमा अध्यक्ष बास्तोलाको जोड

खगिन्द्र राज बास्तोला
सोलुखुम्बु,१२ माघ।नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले ब्यबसायीहरुले नजिकका ब्यापारिक केन्द्रसँग प्रत्यक्षरुपमा व्यापारिक सम्बन्ध कायम गराउन एकजुट हुनु आवश्यक रहेको बताउंदै समय अनुसार व्यापार विविधिकरण गर्नु आवश्यक रहेको बताएका छन।

नेचासल्यान उद्योग बाणिज्य संघको प्रथम साधारणसभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष बास्तोलाले शनिबार सो कुरा बताएका हुन।उनले उद्योग वाणिज्य संघले नेचासल्यानमा गरेका महत्वपूर्ण कार्यको प्रसंशा गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गराउन उपभोक्ता सहजीकरण र जनचेतना फैलाउने कार्यमा उद्योग वाणिज्य संघको सक्रियता महत्वपूर्ण रहेको धारणा राखे ।
नेचासल्यान गाउँपालिकाको सभाहलमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष कुमारीदेबी शर्माले व्यापार व्यवसायमा एकरुपता कायम गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत उपभोक्ताहरुको हितमा ध्यान दिनुआवश्यक रहेको बताउंदै म्याद गुज्रिएका सामान भित्रिनेतर्फ सबै सचेत हुनुपर्ने बताइन् ।

संस्थाका अध्यक्ष हेमराज भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव प्रकाश कटेलले संस्थाको भावी कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघको महत्व र प्रभावकारिता प्रस्तुत गर्दै संस्थाका उपाध्यक्ष विक्रम राई, अनुशासन समितिका संयोजक खेमराज जमरकट्टेल, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक पुष्पराज चालिसे, नेचासल्यान गाउँ कार्यपालिका सदस्य एलिना राई, महेन्द्रोदय माविका प्रधानाध्यापक कृष्णबहादुर बस्नेत, नेचासल्यान गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रमेशकुमार राई र वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार राईले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

सचिव नवराज जमरकट्टेलले आम्दानी तर्फ ६ लाख १९ हजार ९ सय रुपैयाँ खर्च तर्फ ४ लाख २२ हजार ३ सय ४५ रुपैयाँ र संस्थाको मौज्दात रकम १ लाख ९७ हजार ५ सय ५५ को आय व्यय प्रस्तुत गरेका थिए। वाणिज्य संघले लोपोन्मुख व्यवसाय काँचो कागज उत्पादक बुद्धिराज राई, गौरीटाप सुगन्धित तेल उत्पादक लाक्पा शेर्पा, सुवियानी स्टोर्सका प्रोपाइटर पुष्पराज श्रेष्ठलाई सम्मान गरिएको थियो भने व्यवसायमा क्षति पुगेका राम बहादुर बिक र मिङमार शेर्पाकाई नगद रु. ५ हजार सहयोग गरेको थियो।
उद्योग वाणिज्य संघ नेचासल्यानमा हाल १५६ उद्योगी व्यवसायीहरु आबद्ध छन् । कार्यक्रममा बजार अनुगमन समितिले नेचा सल्यान गाउँपालिकाको क्षेत्रभित्र उपभोग हुने सामाग्री तथा होटल व्यवसायको दररेट कायम गरिएको मूल्यसूची वितरण गरिएको थियो। ग्राहकहरु भने उपभोक्ता हकहित र संरक्षणमा सम्बद्ध पक्षले जोड दिनुपर्ने गुनासो गरेका थिए। कार्यक्रम संचालन संघका महासचिव रामप्रसाद बास्तोलाले गरेका थिए भने धन्यवाद ज्ञापन संस्थाका प्रथम उपाध्यक्ष किसान राईले गरेका थिए ।
साधारण सभा संघका अध्यक्ष हेमराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।

