दुईवटा मिर्गौला फेरेको प्रधानमन्त्री बिश्वमा म बाहेक कोहि छैन : ओली

काठमाडौं,११ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा पनि थोरै अपाङ्गता भएको बताएका छन्। आपाङ्गता भएकै कारण आफूले मृगौला फेर्नुपरेको उनले जनाए। “म पनि थोरै अपाङ्गता भएको मानिस हुँ। मैले पनि मृगौला फेल भएर अर्को मृगौला ल्याएर जोडेर राख्या छु।

म पनि अर्को मृगौलाको ह्विलचियर चढेर हिँडेको मानिस हुँ। फेरि अर्को त्यो मृगौला पनि फेल भयो। त्यसपछि फेरि अर्को मृगौला राखेर नयाँ मृगौलाको बैसाखी टेकेर हिँडेको मानिस हुँ। अलिअलि अपाङ्गतै हो,” प्रधानमन्त्री ओलीले भने।
चस्मा नलगाई आफूले पढ्न नसक्ने उनले जनाए। यो पनि एक प्रकारको अपाङ्गता भएको उनले बताए। दुई पटक मृगौला फेर्ने प्रधानमन्त्री विश्वमा आफूबाहेक अरू कोही नभएको उनले जनाए। “दुईटा मृगौला फेरे पनि मैले गाली गरेको छैन, केही पनि भनेको छैन। लाठी लगाएर लखेटेको पनि होइन,” प्रधानमन्त्री ओलीले भने, “तर दुईटा मृगौला फेरे पनि देश बिगार्न खोज्नेहरू, जनताका लागि अहित गर्न खोज्नेहरू, लोकतन्त्र विरोधी तत्त्वहरू, जनताको शासन मास्न खोज्ने तत्त्वहरू भागिभागि हिँडेका छन्।”

