यस्ता छन शेर्पा संघ अमेरिकाका विभिन्न निर्णय

काठमाडौं, ९ माघ । विश्व भरका शेर्पाहरुको बिकास र हित हुने महत्वपूर्ण कार्यहरुमा सहयोग गर्दै आएको शेर्पा संघ अमेरिकाले नेपालमा शेर्पा पत्रकारहरुलाई हौसला प्रदान गर्न तथा व्यबसायिक पत्रकारिताको बिकासको लागि २५ हजार १ रुपैयाँ राशीको पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ।

गत शनिबार बसेको संघको बैठकले प्रत्येक बर्ष एक जना शेर्पा पत्रकारलाई छनौट गरी रु. २५००१/-(पच्चीस हज्जार, एक रुपैया) नगद तथा सम्मान पत्र सहितको “शेर्पा पत्रकारिता पुरुस्कार” दिने निर्णय गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङजाङ्बु शेर्पा ‘गोले’ ले जानकारी दिएका छन।बैठकले अन्य विभिन्न निर्णय पनि गरेको उनले बताए।
अध्यक्ष शेर्पाका अनुसार शेर्पा भाषाको बिकासको लागि भाषालाई सबैले जुन देशमा रहेर पनि सिक्न सहज र शेर्पा भाषालाई एक रुपता बनाउने उद्धेश्य अनुसार विश्व शेर्पा संघले शेर्पा भाषाको एप्स बनाउने महत्वपूर्ण कार्यको लागि शेर्पा संघ अमेरिकाले रु. १५००००/- ( एक लाख,पचास हज्जार रुपैया) सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले शेर्पाहरु राज्यको बिभिन्न निकायको कर्मचारीको लागि खुल्ने लोक सेवा परिक्षामा सहभगिता गराउन र प्रतिस्पर्धा गराउन शेर्पाहरुलाई निशुल्क लोकसेवा आयोगको परिक्षा तयारी कक्षा संचलान गर्न नेपाल शेर्पा संघले शुरु गरेको कार्यको स्वागत गर्दै शेर्पा संघ अमेरिकाले सो कोषको लागि रु १०००००/- ( एक लाख रुपैया) दिने निर्णय गरेको छ।
यसैगरी , हिमालयन सास्कृतिक केन्द्रको अगुवाईमा शेर्पाहरुको मौलिक सास्कृतिक गीतहरुको संगालो “ सेर्वी लु” गीति संग्रह प्रकाशनको लागि शेर्पा संघ अमेरिकाले बिमोचन खर्च बापत लाग्ने भनिएको रु ५००००/- (पचास हज्जार रुपैया) सहयोग गर्ने निर्णय भएको छ।
नेपालमा १०/ १० बर्षमा अध्यावाधिक गरिने राष्ट्रिय जनगणनामा शेर्पाहरुको वास्तविक तथ्याङ्क संकलन होस् भनी शेर्पा समुदायलाई राष्ट्रिय जनगणना सम्बन्धी एफ. एम. रेडियोहरुमा सचेतना बिज्ञापन प्रसारण गर्न नेपाल शेर्पा संघलाई रु ५००००/- (पचास हज्जार रुपैया) सहयोग गर्ने र शेर्पा संघ अमेरिकाको पहिलेदेखिको सबै अभिलेखहरु रहने गरी शेर्पा संघ अमेरिकाको अफिसियल डायनामिक वेब साईट तत्काल बनाउने निर्णय गरिएको उनले रहस्य खबरलाई जानकारी दिए।
शेर्पाका अनुसार बैठकले न्युयोर्क सिटि र न्युयोर्क राज्यको स्थानीय तहमा सरकारी निकाय तथा राजनैतिक क्षेत्रमा समन्वय गर्न आङ जाङ्बु शेर्पा, स्याम्बु शेर्पा, दाजिमा शेर्पा, पेम्बा ग्युर्मे शेर्पा र निलु शेर्पा रहेको समन्वय समिति र गैर अवाशीय नेपाली एनआरएनसँग समन्वय गर्न आङ जाङ्बु शेर्पा, पासाङ दोर्जी शेर्पा, दाजिमा शेर्पा, सांगे शेर्पा र छिरिङ्ग वाङगेल शेर्पा रहेको समिति समेत गठन गरेको छ।

