प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् । प्रतिनिधि सभा विघटन विरूद्द शनिवार वसन्तपुरमा आयोजित सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताए ।

“मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?” नेता सिंहले भने, “कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।”

उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो ।

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्