पशुपति शम्शेर राणाको चेतावनी

काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपति शम्शेर राणाले सरकारको अन्यायपूर्ण कामको विरोधमा आफ्नो पार्टी सडकमा उत्रेको उत्र्यै गर्ने चेतावनी दिएका छन् ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा सोमवार प्रहरीले हस्तक्षेप गरेपछि पत्रकारहरूसँग कुरा गर्दै राणाले सरकारले अन्यायपूर्ण काम गरेको बताएका हुन् ।
‘पृथ्वी जयन्ती मनाउने क्रममा प्रहरीले दमन गरेर अन्यायपूर्ण काम भयो, लोकतान्त्रिक मूल्य मान्यता कुल्चने काम भयो भने सडकमा उत्रेको उत्र्यै हुनुपर्ला । चेतावनी दिन चाहन्छु, तपाईंहरू सुध्रिनुस्, राष्ट्रपति इमान्दार बन्नुस् । जुन प्रकारको गैरजिम्मेवारी देखाइरहनुभएको छ, अन्याय र अत्याचारविरुद्ध हामी संघर्ष गर्छाैं,’ राणाले भने ।
अध्यक्ष राणाले नेपालमा हिन्दूधर्म राष्ट्र पुनःस्थापित गर्नैपर्ने बताए । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले सिंहदरबार अगाडि राप्रपाको जुलुसमा हस्तक्षेप गरेको थियो ।

