नेपाली काँग्रेसलाई १४ औं महाधिवेशनको तय गर्न हम्मे



काठमाडौं, २५ पुस । नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ मितिको खोजीमा छ । पछिल्लो सयम शीर्ष नेताबीच महाधिवेशनको नयाँ मिति सन्दर्भमा छलफल जारी छ । छलफलको कसीमा देश उत्पन्न संवैधानिक संकट र पार्टीले भोग्ने वैधानिक संकटलाई राखिएको छ । संसद विघटनबारे सर्वोच्च अदालतको फैसालापछिको नीति र ०७८ भदौभित्र महाधिवेशन कसरी गर्ने सकिने काँग्रेसमा बहसको विषय छ । पुस ८ बाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका १३ वटा रिट निवेदनहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ जारी छ ।

काँग्रेसमा देखिएको आन्तरिक अविश्वास र कोभिड–१९ संक्रमणका कारण पूर्व निर्धारित फागुन ७–१० को मितिमा महाधिवेशन लागि आधारभूत काम हुन सकेन । त्यसैमा ५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीति संकट थपिएको छ । संसद विघटनमाथि सर्वोच्चमा जारी बहसलाई मध्यनजर गर्दै काँग्रेस महाधिवेशनको नयाँ तिथि मिति खोजीमा जुटेको छ ।

फागुन ७ को प्रजातन्त्र दिवसको विकल्पमा १५ जेष्ठको गणतन्त्र दिवस र साउन ६ को बिपी स्मृति दिवसमाथि छलफल भएको बुझिएको छ । यता क्रियाशील सदस्यताको नवीकरण र वितरणका लागि १९ पुसको केन्द्रीय कार्यसमिति बैठकले थप दुई महिनाको समय स्थानीय तहलाई दिएको छ । बैठकले माघ मसान्तसम्म क्रियाशील सदस्यताको सूची पठाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

भदौ मसान्तसम्म क्रियाशील सदस्यता वितरणले गति नलिएपछि मंसिर मसान्तसम्मको अवधि छुट्याइएको थियो । उक्त समयसीमा अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको वितरणरनवीकरण सकेको थियो ।
क्रियाशील सदस्यता अध्यावधिक गर्ने अवधि थप गर्ने निर्णय गरे पनि काँग्रेसले महाधिवेशनका लागि बुथ, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय गरी आठ चरणका महाधिवेशनका विषयमा कुनै निर्णय गरेको छैन ।

वर्तमान कार्यकालिका अनुसार तल्लो तहको अधिवेशन पुस ६ बाट सुरु भई माघ ६ गतेसम्म सक्ने भनिएको छ । यता आगामी १९ फागुनमा सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद विधानतः थप गरिएको एक वर्ष पूरा हुँदैछ ।

नियमित तालिकामा महाधिवेशन गर्न नसक्दा विधानतः एक वर्ष म्याद थपिएकोमा उक्त अवधिमा पनि महाधिवेशन गर्न नसके संविधानतः अर्को ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने सुविधा बाँकी रहन्छ । देउवा नेतृत्वको कार्यसमितिले सोही सुविधा उपभोग गरे काँग्रेस महाधिवेशन भदौतिर पुग्ने छ ।

तर महाधिवेशनको नयाँ कार्यतालिकामाथिको छलफलमा सहभागी नेताहरु भदौमा नपुग्ने दाबी गर्छन् । तर काँग्रेस उपसभापति विमलेन्द्र निधिले आन्तरिक छलफल भइरहेको बताए । ‘राष्ट्रिय राजनीति के हुन्छ ? त्यसलाई पनि पर्खिएकै हो । महाधिवेशन हामीले गर्नु नै छ । माघ मसान्तमा क्रियाशील सदस्यताको टुंगो लगाउने निर्णय भएको छ । त्यही अनुसार आगामी केन्द्रीय कार्यसमितिमा नयाँ कार्यतालिका आउन सक्छ । यस विषयमा आन्तरिक रुपमा रामचन्द्रजी, सिटौलाजीसँग छलफल भइरहेको छ । सबैका बीच सहमति भयो भने नयाँ कार्यतालिका आउछ,’ उनले भने ।

सर्वोच्च अदालतबाट संसद विघटनबारे जे फैसला आएपनि जेष्ठमा महाधिवेशन गर्ने सकिने निधिको बुझाइ छ । उनले भने, ‘फागुन सातमा नहुने निश्चित भएकाले अब जेष्ठ १५ मा गरौँ भन्ने मेरो अहिले पनि भनाइ हो । संसद पुनस्र्थापना भइहाले राम्रै भैहाल्यो । निर्वाचन नै भए पनि जेष्ठमा गर्न सकिन्छ कि भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’

यस्तै केन्द्रीय सदस्य रमेश लेखकले जेष्ठमा महाधिवेशनमा लागि कोशिस भइरहेको बताए । ‘फागनुमा नहुने निश्चित नै भइहाल्यो । अहिले समयमा गर्नुपर्ने काम भएन भने जेष्ठमा गर्ने कुरा नि गाह्रो हुन्छ । तर हामीले जेष्ठमा गर्ने कोशिस गर्ने हो,’ सभापति देउवाका विश्वास पात्रसमेत रहेका लेखकले भने, ‘हाम्रो एजेण्डा महाधिवेशन हो । तर देश निर्वाचन तर्फ जाने वा फेरि संसदमा फर्किने सबैको ध्यान अदालततिर छ । देश निर्वाचनमै गए पनि जेष्ठको अन्तसम्म महाधिवेशन गर्न कोशिस रहन्छ ।’

चुनावी र महाधिवेशन राजनीतिक अभियान भएकाले दुबै अभियानलाई सँगै लिएर जान सकिने उनको बुझाइ छ । ‘चुनाव र महाधिवेशनलाई सँगै लग्छौँ । दुबै राजनीतिक अभियान हो । दुबैलाई सँगसँगै लिएर जान सकिन्छ । बैशाखमा चुनाव भए पनि जेष्ठमा महाधिवेशन गर्न सकिन्छ । जेष्ठको अन्तिमसम्म भए पनि महाधिवेशन गर्नुपर्छ,’ लेखकले भने ।

तर सस्थापन इतर केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने अब साउन ६ गते बिपी स्मृति दिवसका दिन महाधिवेशन गर्ने गरी निर्णय गर्दा राम्रो हुने बताए । ‘मलाई लाग्छ साउनमा महाधिवेशन गर्न सकिन्छ । साउन ६ गते बिपी स्मृति दिवसका दिन महाधिवेशन गर्ने गरी निर्णय गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । फागुनमा गर्न सक्ने अवस्था छैन । भदौमा पुर्याउन हुँदैन। आगमी २७ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्ला ।’

तरल राजनीतिक अवस्थामा देशको राजनीतिक कसरी जान्छ भन्ने कुराले जेष्ठमा महाधिवेशन गर्ने कुराले प्रभावित हुने उनको भनाइ छ ।
‘जेष्ठमा गर्न सकिए एकदमै राम्रो । तर देशको राजनीति तरल अवस्थामा छ । तरल राजनीतिक अवस्थामा देशको राजनीतिक कसरी जान्छ ? त्यसले महाधिवेशलाई प्रभावित गर्छ,’ रिजालले भने,‘अदालतको निर्णय चाँडै आयो, संसद पुनस्र्थापना भएर व्यवस्थित रुपमा काम थाल्यो भने हामीलाई महाधिवेशनको मात्र चटारो हुन्छ । जेष्ठमै महाधिवेशन गर्न सकिने सम्भावना हुन्छ । देशको राजनीति अन्य बाटोमा धकेलियो भने साउन भन्दा अगाडि कसरी हुन्छ ?’

रिजालकै जस्तो मत केन्द्रीय सदस्य गगन थापाको पनि छ । ‘अब हाम्रो महाधिवेशन गर्ने सकिने भनेको साउन–भदौमा हो ।’ तर त्यो सबै कुरा माघ मसान्तसम्म क्रियाशील सदस्यताको काम सम्पन्न हुन्छ हुँदैन भन्नेमा भर पर्ने थापाले बताए ।

‘महाधिवेशनको तिथि मितिका पछाडि नलागेर समस्या नभएको जिल्लाहरुबाट क्रियाशिल सदस्यता टुंग्याउन हामी सबैले मिहेनत गर्रौँ भने महाधिवेशन मजाले हुन्छ । केही समस्या ग्रहस्त भएको जिल्ला बाहेक अरु जिल्लोको क्रियाशिल माघमा आउछ । केही नआएको जिल्लाका जिल्लालाई थप दबाब हुन्छ । १५/२० दिनमा उनीहरु पनि पठाउन बाध्य हुन्छन्,’ थापाले भने ।

उनका अनुसार चुनाव वा संघर्षले अलमल्याए पनि त्योबीचमा क्रियाशील छानबिनको काम हुन्छ । ‘क्रियाशील टुंगिएपछि हाम्रो भोटर लिस्ट टुंगियो । त्यसपछि एकै पटक ६ हजार बढी वडामा चुनाव हुन्छ । पालिका, क्षेत्र, जिल्लामा पनि एकै दिन हुन्छ । अनि काठमाडौंमा महाधिवेशन गर्ने हो । त्यसैले काँग्रेस महाधिवेशन हुने नहुने कुरा माघमा तोकेको समयभित्र जिल्लाले क्रियाशील बुझाइदियो । केही महिना ढिलो भए पनि अधिवेशन हुन्छ,’ इतर पक्षसँग निकट थापाले भने ।

यद्यपि माघमा क्रियाशील सदस्यता टुंग्याउँदा संसदको पुनस्र्थापना भएको खण्डमा जेठमा पनि अधिवेशन गर्न सकिने उनको बुझाइ छ । थापाले भने, ‘अदालतको निर्णयले काँग्रेस महाधिवेशन जेष्ठ कि भदौ भन्ने कुरालाई असर गर्छ । तर काँग्रेसको महाधिवेशन हुने कि हुने कुरा क्रियाशिल सदस्याताको कार्यतालिका अनुसार काम गर्न सक्छ कि सक्दैन मुल कुरा हो ।’

महाधिवेशनबारे खडा भएको अनिश्चयको दोष केन्द्रको सभापतिलाई मात्र लगाएर नहुने उनको भनाइ छ । ‘अधिवेशनबारे पार्टीको केन्द्रीय सभापतिलाई प्रश्न गर्ने ? तर जिल्लाले क्रियाशिल नबुझाउने ? जिल्लाले क्रियाशिल बझाएन भने अदालतले जे सुकै निर्णय गरेपनि हाम्रो अधिवेशन अनिश्चय हुँदै जान्छ । कार्यतालिलाई अनुसाशित ढंगले मानिराखेको अवस्था छैन,’ थापाले भने ।

यता लेखकले भने अब क्रियाशिल टुंगिन्छ भन्नेमा आशावादी भएको बताए । ‘हिजो कोभिडका कारण समस्या थियो । अहिले राजनीतिको तपक्रमले कोभिडको डर कम गराइदिएको छ । अब भनेको मितिमा केही क्रियाशिलको काम सकिन्छ होला । क्रियाशिल टुंगिन्छ भन्नेमा म आशावादी छु,’ उनले भने । यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले क्रियाशील सदस्यताको वितरण र नवीकरणको कामले तीव्रता पाएको बताए । पार्टीको वेबसाइटमा जिल्लाहरुबाट पार्टीका क्रियाशील सदस्यताको नामको सूची राख्ने काम धमाधम भइरहेको उनले बताए ।

उनका अनुसार केन्द्रमा सूची मात्रै पठाउँदा १० लाख सदस्यताको नाम टाइप गर्न नै चार महिना लाग्ने अवस्था थियो । नयाँ प्रविधि अनुसार जिल्लाबाट सिधै टाइप गरेर वेबसाइटमा सदस्यताको सूची राख्न सकिने भएकाले महाधिवेशनको प्रक्रिया छिटो अघि बढ्ने र केन्द्रलाई पनि बोझ घट्ने पौडेलले सुनाए । विवाद नभएका जिल्लाहरुमा क्रियाशील सदस्यताको काम धेरै अघि बढिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्