राष्ट्रपतिलाई राजिनामा दिएर ओली समूहबाट चुनाव लड्न कांग्रेस नेताको सुझाव

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा दिएर ओली समूहबाट चुनाव लड्न आग्रह गरेका छन्।

बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको एउटा गुटको नेता जस्तो भएर काम गरेको आरोप लगाउँदै उनले भने, ‘अहिलेको यो परिस्थिति राष्ट्रपतिले सम्हाल्नुपर्ने बेलामा प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ,’ उनले भने, ‘अब उहाँले राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्दै हिँडे हुन्छ।’
प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिले गैर संवैधानिक र विवेकहीन काम गरेको उनले बताए। ‘उहाँले गरेको यस्तो कामले अब यो मुलुकमा राष्ट्रपतिबाट केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसक्यो,’ नेता बस्नेतले भने।

