संसद विघटनविरुद्ध सल्लेरीमा नेकपाको बृहत् बिरोध प्रदर्शन

सोलुखुम्बु, १४ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहको निर्णय अनुसार मंगलबार उपत्यकालगायत मुलुक भरका जिल्ला सदरमुकामहरुमा संसद विघटन बिरुद्ध व्यापक प्रदर्शन गरिएको छ।

बिघठित प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने भन्दै सो पार्टी ले सुरु गरेकोआन्दोलनका क्रममा जिल्ला सदरमुकाम सल्लेरीमा व्यापक प्रदर्शन भएको छ।पार्टीका केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरबीर’ को नेतृत्वमा सम्पन्न बिरोध प्रदर्शनमा पार्टी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।पार्टीका विभिन्न तहका नेताहरुसहितको उपस्तिथिमा सम्पन्न सो बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै निबर्तमान सांसदसमेत रहेका केन्द्रीय सदस्य राइले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु असंवैधानिक भएको बताउंदै लोकतान्त्रिक गणतन्त्रविरुद्धको यो दुष्कर्म सर्बोच्च अदालतले सच्याउने आशा व्यक्त गर्नुभएको थियो।

हजारौं शहिदहरुको बलिदानबाट प्राप्त यो उपलब्धिको रक्षाका लागि आफुहरु जस्तोसुकै लडाइँ लडन तयार रहेको बताउँदै राइले यसलाई समाप्त गर्ने सपना नदेख्न प्रधानमन्त्री ओलीलाइ चेतावनी दिनुभएको थियो।
देश र जनतालाई धोका दिंदै प्रधानमन्त्री ओलीले संविधान माथि “कु” गर्ने प्रयास गरेपनि त्यो असफल हुनेदावी गर्दै देशको मुहार फेर्ने काम नेकपा सरकारले नै गर्ने र आधिकारिक नेकपा आफूहरू नै भएको वहाँको भनाइ थियो।आफूहरू एकताको पक्षमा पुर्ण ईमान्दार रहेको बताउंदै वहाँले नेकपाका कार्यकर्ताहरूलाई बिचलित नहुन पनि उहाँले आग्रह गर्नुभयो।

समन्वय समितिको सभाहल नजिकैबाट सुरुभएको जुलुस बसन्त बजार हुँदै सोही स्थानमा आएर कोणसभामा परिणत भएपछिको सभालाई सम्बोधन गर्दै पार्टीका प्रदेश सभा सदस्य आङङिमा लामाले पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको घोर निन्दा गर्दै संविधान माथिको यो प्रहार कुनैपनि हालतमा क्षम्य नहुने बताए।

बिरोध कार्यक्रममा बोल्दै नेकपा सोलुखुम्बुका पुराना नेता शेर्पाले प्रधानमन्त्री र राष्ट्रपतिले संबिधान बिपरित गएर गरेको कार्यको आयु लामो नभएको दावी गर्नुभयो। बिरोध कार्यक्रममा ओलीको नाममा शङ्ख समेत बजाइएको छ । कोणसभा पश्चात् नेकपाको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

